सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने माग जायज छ: सभामुख घिमिरे

काठमाडौं, फागुन १७ ।  सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्।

बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताए। उनले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमहरुसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताए।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण प्रशारण गर्नुपर्ने बताए। उनले अवस्था परिवर्तनको लागि पत्रकारिताको भुमिका महत्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अंगहरु व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरुको भुमिका उल्लेखनीय रहेको बताए।

इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजि पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ। त्यस्तै ग्रामिण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इञ्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्