राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू, क-कसलाई लाग्छ ?

काठमाडौं, फागुन १७ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले मंगलबार फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको थियो ।

आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ भने आयोगले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।

आयोगका अनुसार राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेका नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, संख्या ३२ मा प्रकाशन भइसकेको छ ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो । आयोगको निर्णयबमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्