खाली भयो सरकार, १६ मन्त्रालयको भारी बोक्दै प्रधानमन्त्री !

काठमाडौं, फागुन १६ ।  सरकार बनेको दुई महिनामै गठबन्धन भत्किएपछि प्रधानमन्त्रीलाई मन्त्रलायको भार थपिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपापछि एमाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खालि भएका छन् । रास्वपा र राप्रपाले सम्हालेका ३-३ मन्त्रालय यस अघि खालि भएका थिए भने एमालेले सोमबार सरकार छोडेपछि ८ मन्त्रालय खालि भएका छन् । त्यस्तै यस अघि नै प्रधानमन्त्री आफैले राखेका दुई मन्त्रालय गरि अहिले १६ मन्त्रालय मन्त्री विहिन बनेका छन् ।

अहिले सरकार निर्माणदेखि नै प्रधानमन्त्रीसँगै रहेका वन तथा वातारण, युवा तथा खेलकुद मन्त्रालय रहेका थिए । त्यसपछि नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय खालि भएको थियो । फेरी गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय खाली भएका थिए । यी मन्त्रालय पनि प्रधानमन्त्री आफैले राखेका थिए ।

त्यस्तै आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए । राप्रपाबाट उप प्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले राजीनामा दिएका थिए । त्यसैगरी उर्जा राज्यमन्त्री दीपक सिंहले पनि राजीनामा दिएका थिए ।

राप्रपाको भागमा परेको ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पनि प्रधानमन्त्रीले आफैसँग राखेका छन् ।

अब सोमबार एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेतीले राजिनामा दिएपछि यी मन्त्रालय पनि खालि भएका छन् ।

अब प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, खानेपानीमन्त्री अब्दुल खान, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सर्पाली ठकुरी बाँकी रहेका छन् ।

आठ दलको नयाँ समीकरण बन्ने क्रममा रहेकाले अब कांग्रेससहितका दलहरु छिट्टै सरकारमा जानसक्ने देखिएको छ । आठ दलमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्