सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति, थुनामै फर्काउनु नपर्ने ठहर

काठमाडौं, फागुन १५ ।  सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ।

लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो।

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो।

त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो।

सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।

सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए।

सन्दीपलाई एकजना नाबालिग (गौशाला २६) लाई बलात्कार गरेको अभियोग लागेको थियो। त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो।

उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए।

 

प्रतिक्रिया दिनुहोस्