लामो समयपछि काठमाडौँमा वर्षा

काठमाडौं, फागुन १४ । काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ ।

‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने देखिन्छ’, उनले भनिन्, ‘यो निरन्तर हुने अवस्था छैन । छिटपुट रुपमा कतै हुने र कतै नहुने देखिन्छ ।’

यो प्रिमनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ । लामो समयसम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्