राष्ट्रपतिको दौडमा दुई पूर्वसभामुख !
काठमाडौं, फागुन १४ । शुक्रवार बनेको नयाँ राजनीतिक समीकरणमा फागुन २५ सम्म फेरबदल नभए नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्रायः छ ।
तर उनीसँग नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गर्नेछन् । जसले जिते पनि मुलुकले अनुभवी, मध्यमार्गी र तुलनात्मक रुपमा नैतिक मूल्यमा उभिने राजनीतिकर्मी पौडेल र नेम्बाङलाई उम्मेदवारका रुपमा पाउने छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि पौडेल र नेम्वाङले शनिवार उम्मेदवारी दर्ता गराएका हुन् । यो सँगै पूर्व सभामुखलाई मुलुकले तेस्रो राष्ट्रपतिका रुपमा पाउने भएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेल प्रतिनिधिसभाका र नेम्वाङ संविधानसभाका पूर्वसभामुख हुन् । पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा थिए ।
नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभाको पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारी सम्हालेका थिए ।
पौडेल र नेम्वाङले शनिवार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि चर्चामा रहेका पौडेल र नेम्बाङ नै भावी राष्ट्रपतिका लागि आमनेसामने भएका हुन् । शुक्रवार मात्र बनेको आठ दलीय समीकरणबाट सर्वसम्मत उम्मेदवार बनेका पौडेलको उम्मेदवारी ‘संविधानको रक्षाका लागि’ भएको दाबी गरिएको छ ।
उता पुस १० मा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन पाँचदलबीच भएको सहमति अनुसार नै उम्मेदवारी दिएका एमाले उपाध्यक्ष नेम्वाङको उम्मेदवारी ‘कम्युनिष्ट एकताका लागि’ भएको जिकिर गरिएको छ ।
वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको एमाले सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसमा वरिष्ठ नेता पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मा आकांक्षीका रुपमा रहेका थिए । तर शनिवारको कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरे र उनकै नाममा सहमति जुट्यो ।
पौडेललाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा कसैले विरोध नगरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । ‘सभापतिले रामचन्द्रको नाम प्रस्ताव गर्नुभयो । रामचन्द्रले धन्यवाद दिएपछि बैठक सकियो । अरु नेताले राष्ट्रपतिको उम्मेदवारमा दाबी नै गरेनन्, उनले भने ।
कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । पुस १० मा बनेको एमालेसहितको पाँच दलको गठबन्धन भंग गर्दै प्रचण्डको संयोजनमा १२ फागुनमा बनेको ८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसले तय गर्ने उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अहिलेसम्म अरु कुनै दल खुलेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पौडेल नेम्वाङ कसैको पक्षमा खुलेका छैनन् ।
शनिवार उम्मेदवारी दर्ता गराए लगत्तै पौडेल र नेम्बाङ दुवैले आफूले जित्ने दाबी गरेका छन् । ८ दलको समर्थनमा उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता पौडेलले नेकपा एमालेले पनि आफूलाई सघाउने विश्वास व्यक्त गर्दै आफूले सर्वसम्मत निर्वाचन जित्ने जिकिर गरेका छन् ।
शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको र आफूलाई सर्वसम्मत बनाउन उनको योगदान रहने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्