राष्ट्रपतिमा कांग्रेसले दाबी छोड्दैन: महामन्त्री थापा

काठमाडौं, फागुन १२ ।  चार दलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ। शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समँजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा कांग्रेसले आफ्नो अडान राखेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको बताए। बैठकमा का‌ंग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो-आफ्नो दाबी गरेको बताए। महामन्त्री थापाले प्रस्तावमा आएका नामहरुका बारेमा दलहरुले आफ्नोआफ्नो पार्टीमा छलफल गरी पुन: ५ बजे बैठक बस्ने सहमति भएको बताए।

उनले भने, ‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली काँग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलहरुसँग छलफल गरेको छ। कहिले छुट्टै कहिले तीन दलबीच बैटक बसिरहेको छ। विभिन्न विकल्पहरुको बारेमा छलफल भएको छ। छलफल सकारात्मक छ। हामी टुंगोमा पुग्नेछौँ। थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ। साँझ ५ बजे बस्नेगरी सकिएको छ। हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ। आज हामी टुंग्याउनै पर्छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुले सहयोग गर्छ भन्ने अपेक्षा राखेकै छाैं । यसैगरी अन्य दलकोतर्फबाट फरक प्रश्तावहरु आए। तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ। हामी एकै ठाउँमा उभिन्छौँ भन्ने कुरामा सबै स्पष्ट छौँ। नेपाली कांग्रेसले आफ्नो उम्मेदवार अघि सारेको एउटा प्रस्तावमा नेपाली कांग्रेस बाहेकका दलहरुले पनि अर्को प्रस्ताव गरेका छन्। नेपाली कांग्रेसले अन्य दललाई किन सहयोग नगर्ने भन्ने प्रस्तावमा आएको छ।’

महामन्त्री थापाले काँग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताए। उनले अन्य दलहरुले पनि काँग्रेस बाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको बताए।

प्रतिक्रिया दिनुहोस्