बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे ५ बजेपछि निर्णय
काठमाडौं, फागुन १२ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न शुक्रबार बिहान बसेको पुरानो गठबन्धनको छलफल सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बेलुका पाँच बजे फेरि बस्ने गरी अहिलेलाई टुङ्ग्याइएको हो।
बैठकमा फरक फरक प्रस्ताव आएपछि पुन: पाँच बजे अर्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवासमा तीन घण्टा बढी चलेको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो ।
तर कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरु आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने बताए ।
बैठकमा कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो भने बाँकी तीन दलले माधवकुमार नेपाललाई राष्ट्रपति उमेदवार बनाउन प्रस्ताव गरेका थिए ।
नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको दाबी रहेको छ ।तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका छन् ।
‘बालुवाटारको बैठकमा विभिन्न प्रस्तावबारे छलफल भएको छ । अब आ- आफ्ना दलमा छलफल गरेर टुंगोमा पुग्छौं’ उनले भने,’ अहिले प्रस्तावहरु आएपनि हामी सबै एउटै निष्कर्णमा पुग्ने भन्ने चाहिँ समझदारी छ ।’
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए।
यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी थिए।
यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी थिए।
छलफल सहमति नजिक पुगेको बैठकमा सहभागी एक नेताले बताए। बैठकले कुनै निष्कर्ष निकालिनसकेको तर सकारात्मक उन्मुख भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्