बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक शुरु, जुट्ला त विवादित विषयमा सहमति ?
काठमाडौँ । एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक शुरु भएको छ । बैठक बिहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।
बिहीबारको बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले बताएका छन् ।
कार्यदलस्तरमा एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य वा सूर्यभित्र हसियाँ–हथौडा, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुटेको छैन । त्यस्तै केन्द्रीय समितिमा कुन पार्टीका कतिजना राख्ने भन्नेमा पनि विवाद छ ।
एकीकृत पार्टीको केन्द्रीय समिति २९९ बनाउने यसअघि नै निर्णय भैसकको छ ।
विवाद रहेका यी विषयमा संयोजन समितिले टुङ्गो लगाउने नेताहरुले बताउँदै आएका छन् । माओवादी नेताहरुले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ भने एमलेले सूर्य मात्रै राख्ने अडान लिएको छ ।
आगामी वैशाख ९ गते पार्टी एकीकरण घोषणा गर्ने तयारीमा रहेका दुवै दलले सकेसम्म यी विषयमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउने प्रयास गर्ने बताउँदै आएका छन् ।
पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले बैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय समितिको बैठक तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्