काँग्रेससहितको गठबन्धन व्युताउने विषय टुंगोमा पुगेको छैन- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, फागुन ११ ।  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेससहितको पुरानो गठबन्धनलाई ब्यँुत्याउने विषय टुंगोमा पुगिनसकेको बताएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पारे ।

बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी हुनुभएका उनले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति र मुख्यतः राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा छलफल भयो । अहिलेको छलफल अझै निष्कर्षमा पुगिसकेको छैन । हामी आजै फेरि अर्को बैठक बस्दैछौं–५ बजेतिर । पूरानो गठबन्धन ब्यूताउने विषयमा त्यस्तो केही पनि सहमती भइसकेको छैन । हामीले अरु शक्तिहरुसँग पनि छलफल जारी राखेका छौं । त्यसो त हाम्रो पार्टीका अध्यक्ष नेकपा (एमाले) का अध्यक्ष लगातार छलफलमा हुनुहुन्छ । त्यहाँ पनि टुंगिसकेको स्थिति छैन । हामीले नेपाली काँग्रेससँग पनि हिजो छलफल ग¥यौं । नेकपा एकीकत समाजवादी र जनता समाजवादीसँग पनि छलफल गर्नुपर्छ भनेर त्यही बैठकमा भनेका छौं । त्यसो त जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सबै राष्ट्रिय पार्टीहरुसँग छलफल गरेर हामी निष्कर्ष पुग्छौं ।’

यसैबीच, काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपरान्ह ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्