साँझ ६ बजे चार दलको संयुक्त बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार मुख्य एजेण्डा

काठमाडौं, फागुन ११ ।  राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बस्ने भएको छ।

बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलहरुको संयुक्त बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रपतिको विषय र पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा छलफल हुने स्रोतको भनाइ छ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुले छलफललाई तीव्रता दिएका छन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस–माओवादी बैठकमा पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने अनौपचारिक सहमति भएको बताइएको छ। उक्त सहमतिलाई अन्तिम रुप दिन दलहरु संयुक्त छलफलमा बस्न लागेका हुन्।

चार दलको बैठकअघि कांग्रेसबाहेक माओवादी, समाजवादी र जसपाको बैठक बस्ने छ।

राष्ट्रपति नेपाली कांग्रेसले पाउनुपर्ने बताउँदै आएको छ। तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा दाबी गरेपछि उनलाई मनाउन कांग्रेस–माओवादीले जोड गर्दै आएका छन्।

आजै सिंहदरबारमा भएको छलफलमा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्