कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छः मन्त्री श्रेष्ठ
काठमाडौं, फागुन ११ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्।
बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत चेन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए। उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकको पनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए।
मन्त्री श्रेष्ठले चिनियाँ राजदुत चेन सङसँग मन्त्रालयमा छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए। उनले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता समेत जनाए।
बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको बताए। स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति भएको पनि उनले बताए
। उनले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन पनि आग्रह गरेका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलंकी–महाराजगञ्ज सडक निर्माण नभएको भएपनि अब भने तत्काल काम शुरु गर्ने तयारी रहेको जानकारी दिए ।














प्रतिक्रिया दिनुहोस्