लिखित सहमतिनजिक कांग्रेस-माओवादी, सरकारमा पनि भागबन्डा गर्ने तयारी
काठमाडौं, फागुन ११ । राष्ट्रपतिको उम्मेदवार छनोटका विषयमा कांग्रेस र माओवादी सहमतिनजिक पुगेका छन् ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार लिखित सहमति गर्ने तयारी छ ।
बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यता बालुवाटार वार्ताबाट कांग्रेस र माओवादी सहमतिनजिक पुगेलगत्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीले पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने बताए । राष्ट्रपतिमा कांग्रेस र माओवादीबीच सहमति भए गठबन्धनबारे पार्टीले आवश्यक निर्णय लिने पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
त्यसै गरि राष्ट्रपति निर्वाचित गराउन कांग्रेस र माओवादीको मात्र मतभार पर्याप्त छैन । त्यसैले राष्ट्रपतिमा दाबी गरिरहेको एकीकृत समाजवादीलाई मनाउन दुवै दलले कसरत गरिरहेका छन् । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले माओवादीले कांग्रेसलाई समर्थन गरेको अवस्थामा आफूहरूले पनि सघाउने संकेत गरेका छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल नै राष्ट्रपतिका आकांक्षी हुन् । एमालेबाट राष्ट्रपतिमा सुनिश्चित नदेखिएपछि अध्यक्ष केपी शर्मा ओलीले नै नेता नेपाललाई अघि सर्न प्रस्ताव राखेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले नेपाललाई एक वर्ष भए पनि सरकारको नेतृत्व दिने गरी मनाउन खोजिरहेका छन् । यो विषयमा बिहीबार नेता नेपालसँग वार्ता गर्ने तयारी छ । संसद्का दुई ठूला दल कांग्रेस र एमाले राष्ट्रपति आफ्नो पक्षमा पार्ने अन्तिम कोशिसमा छन् ।
बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।
अपराह्न ५ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपाल नेताहरूसहितका देउवा निवास धुम्बाराही पुगेका थिए । त्यसको साढे एक घण्टापछि कांग्रेस सभापति देउवा दाहाललाई भेट्न बालुवाटार पुगे । यही वार्ताले माओवादी कांग्रेसबीच अनौपचारिक समझदारी बनाएको हो ।
पाँचदलीय गठबन्धन छाडेर माओवादी अध्यक्ष प्रधानमन्त्री बने पनि कांग्रेसले राष्ट्रपति आफ्नो पोल्टामा पार्न विश्वासको मत दिएको थियो ।
कांग्रेससहितका अधिकांश प्रतिपक्षी दलबाट विश्वासको मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका प्रधानमन्त्री दाहाल त्यसको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेका छन् ।















प्रतिक्रिया दिनुहोस्