आजदेखि  १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं, फागुन ११ ।  सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ शुरु गरेको छ ।

झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ ।

प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।

दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्दछ । दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खानु नहुने मन्त्रालयले जनाएको छ ।

हात्तीपाइलेविरुद्धको औषधिले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । हात्तीपाइले हुनबाट पनि बचाउने बताइन्छ ।

नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले यो दर चार प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्