राष्ट्रपति निर्वाचनः आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौं, फागुन ११ ।  राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज १२ बजेसम्म मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। दाबी, विरोध, उजुरी लगायतका काम आज १२ बजेसम्म गर्न सकिने छ।

त्यसै गरी आजै १२ बजेदेखि अपराह्न ३ बजेसम्म आवश्यक जाँचबुझ गरिनेछ। भोलि ३ देखि ४ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ। यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

१३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्