सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, मुखबाटै खाना खुवाउन थालियो

काठमाडौं, १० फागुन । सांसद चन्द्र भण्डारीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।

यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइने सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।

३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।

एन्टिबायोटिकले काम गरेकाले अहिले इन्फेक्सन न्यून भएको र ज्वरो नआएको कारण डराउनु पर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न चिकित्सक डा। मुकेश मिश्राले बताए ।

चिकित्सकहरुले अबको काम भनेको इन्फेक्सनबाट बचाउने मात्र भएको बताउने गरेका कँडेलले जानकारी दिएका छन् । उनका पूर्व स्वकीय एवं लेक्चरर माधव न्यौपानेले जनाएका छन् । सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् ।

उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न दिएको छैन ।

सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्