राष्ट्रपति निर्वाचन : ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं, फागुन १० ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको छ । जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य ३३१ जना र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

नागरिक उन्मु्क्ति पार्टीका सांसद अरूण चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका सांसद चौधरी जेलमुक्त भए पनि उनको सांसद पद फुकुवा नभएपछि निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदा मिनाह गरिदिएपछि सांसद चौधरी रिहाइ भएका हुन् । तर संसद सचिवालयले उनको निलम्बन पद फुकुवा गरेको छैन । उनीसँगै नेपाली कांग्रेस सांसद टेकबहादुर गुरूङले पनि मतदान गर्न नपाउने भएका छन् ।

सांसद भए पनि उनको भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज छ । नागरिकता विवादमा मुछिएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो । लामिछानेले अदालतको आदेशअनुसार पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् ।

तीन जना सांसदले भने निर्वाचनमा भाग लिन नपाउने भएका छन् । सांसद अरूण चौधरी र टेकबहादुर गुरूङ निलम्बनमा छन् । चौधरी थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका थिए । तर सरकारले जेलमुक्त गरेपनि उनको निलम्बित सांसद पद संसदबाट फुकुवा भएको छैन । यसैगरी भ्रष्टाचार मुद्दामा गुरूङ निलम्बनमा छन् ।

नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद गुमेपछि उनको पद खाली छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन् ।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन् । राष्ट्रियसभामा ५९ जना सदस्य छन् । संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ । संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ ।

जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ । राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्