गण्डक नहरमा २ छोरासहित एक महिलाले हामफालिन् , तीनै जनाको अवस्था अज्ञात
काठमाडौं, फागुन ९ । नवलपरासीको गण्डक नहरमा एक महिलाले आफ्ना दुई छोरासहित हाम फालेकी छन् । मंगलबार दिउँसो २ बजेतिर उनले दुई छोरासहित गण्डक नहरमा हाम फालेको प्रहरीले जानकारी दिएको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए । अहिलेसम्म उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीको भनाइ छ ।
मानसिक सन्तुलन बिग्रिएकी उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनका श्रीमान वैदेशिक रोजगारमा रहेको पाइएको प्रहरीले जनाएको छ ।
उनले के कति कारणले छोराहरुसहित नहरमा हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको डीएसपी पाण्डेले बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्