कांग्रेसलाई राष्ट्रपति दिने दाउमा प्रचण्ड !

काठमाडौं, फागुन ८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारमा सहमति हुने आश्वासन दिएका छन् ।

आज बिहान भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमै सरकार निर्माण हुने बताएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीलाई उद्धृत स्रोतले भन्यो, कांग्रेसलाई समेट्नुपर्ने बाध्यता छ । कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्‍हो छ । सत्ता गठबन्धन जोगाएर पनि कांग्रेस सरकारमा ल्याउने मेरो पुरै कोसिस रहने छ । यसका लागि हिजो कांग्रेसका साथीहरुरुसँग पनि छलफल भयो । मिलेर जानुपर्छ ।’

पौडेल र लामिछानेलाई प्रधानमन्त्रीले सहमति त कांग्रेसले उठाएकै नाममा हुने तर, सत्ता यो गठबन्धन जोगाएर अगाडि बढ्ने बताएको स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न आइतबार राति कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कृष्ण सिटौला बालुवाटार पुगेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीमा निरन्तरता दिन प्रतिबद्ध रहेको बताउँदै पुरानै गठबन्धन ब्युँताउन र एमालेसँगको सहकार्य तोड्न आग्रह गरेको थियो ।

प्रधानमन्त्रीले आज पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् । कांग्रेस नेताहरूले वर्तमान गठबन्धन तोडेर राष्ट्रपतिमा आफूहरूलाई सहयोग गरे पुरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार रहेको आश्वासन दिएका थिए ।

राष्ट्रपतिका लागि मनोनयन गर्न एकसाता भन्दा कम समय बाँकी रहेका बेला कांग्रेसले सक्रियता बढाएको हो । कांग्रेसको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । माओवादीले आजका लागि पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठकपछि माओवादीले राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने धारणा बनाउने छ ।

राष्ट्रपतिमा कांग्रेस र एमालेले उम्मेदवार उठाउने करिब पक्का छ । माओवादी एमालेलाई भन्दा कांग्रेसलाई सहयोग गर्नुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्