राष्ट्रपति निर्वाचन: गठबन्धनभित्र शंकै शंका, आशैआशमा कांग्रेस
काठमाडौं, फागुन ८ । २५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनको विषय लिएर सत्ता गठबन्धनभित्र शंका बढेको छ ।
राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा रहेको नेपाली कांग्रेस भने गठबन्धनभित्र अविश्वास बढ्दा चुनाव आफ्नो पक्षमा पार्ने आशामा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।
एमाले नेता सुवास नेम्वाङले वर्तमान सरकार निर्माण हुँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेकाले राष्ट्रपतिका लागि नयाँ सहमति आवश्यक नभएको बताए ।
शंका आशंकाकै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत १० पुसमा वर्तमान सरकारको खाका बनाइँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेको दाबी गर्दै आइरहेका छन् ।
नयाँ राष्ट्रपतिका विषयमा एकअर्काप्रति शंका बढेपछि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटार–बालकोट आउजाउ पनि बढ्दै गइरहेको छ ।
प्रचण्ड सरकार बन्दा नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताको दाबी छ ।
तर, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताए ।
कांग्रेसले भने गत २६ पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा आस राख्दै आइरहेको छ । त्यसयता माओवादी र कांग्रेसको सम्बन्ध पनि सुमधुर छ ।















प्रतिक्रिया दिनुहोस्