ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान सकिरहेको छैन- सभामुख घिमिरे

काठमाडौं, फागुन ७ ।  सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताएका छन् ।

आईतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताएका हुन् ।

देशमा धेरै ऐन, कानूनहरु बनाउनुपर्ने आवश्यकता भएपनि त्यसो हुन नसकेको उनले बताए । उनले बनेका ऐनहरुको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको बताए । उनले सरकारले संसदलाई उचित ढंगले नहेरेको बताए ।

सभामुख घिमिरेले कतिपय कुराहरु न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए । उनले कार्यपालिका र व्यवस्थापिकाका बिचमा समन्वय हुनुपर्ने बताए । उनले ऐन, कानून कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरुका लागि सरकारले गम्भिर भएर कुनैपनि काम गर्न नसकेको बताए । त्यस्तै संसदमा पनि ति विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने बताए । संसदलाई जनताको आकांक्षा अभिव्यक्ति गर्ने थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले राजनीतिक दल र सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाएर संसद चलाउने बताउनु भयो । संसदले पूर्ण रुपमा जनताप्रति जवाफदेही भएर काम गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्