राष्ट्रपतिको रस्साकस्सी, अप्ठ्यारोमा सत्ता गठबन्धन
काठमाडौं, फागुन ७ । फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन हुँदैछ । अर्थात, राष्ट्रपतिको निर्वाचन कार्यकतालिकाको औपचारिक सुरुवात हुन तीन दिन मात्रै बाँकी छ ।
तर, दलहरुले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाएका छैनन् । कांग्रेस र एमालेको तीव्र लविङमा माओवादीको अडान निर्णायक भएर रहेको छ ।
आफूले भनेकै व्यक्तिलाई राष्ट्रपति बनाउन सत्ता गठबन्धन दल एमाले र विपक्षी नेपाली कांग्रेसका नेताहरू सक्रिय छन् । एमालेले माओवादीसँग पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । तर माओवादीले सर्वसम्मत व्यक्ति खोज्नुपर्ने भन्दै आएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले रोजेकै व्यक्ति राष्ट्रपति भए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्छ कि भन्ने चिन्ता सत्ता पक्षकै नेताहरूमा देखिन थालेको छ ।
हुन त एमाले र माओवादीबीच पुस १० मै राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर अहिले परिस्थिति फेरिएकाले सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउँदा गठबन्धन सरकारमा कुनै असर नपर्ने माओवादीको दाबी छ । माओवादीले सहमतिबाटै राष्ट्रपति चयन गर्नुपर्ने भने पनि त्यति सहज देखिँदैन । किनकि एमालेले आफूले भनेकै पात्रलाई राष्ट्रपति बनाउनुपर्ने अडान छाडेको छैन ।
त्यसो त कांग्रेसले पनि राष्ट्रपतिको चुनावमा निर्णायक मानिएको माओवादी केन्द्रलाई फकाउन छाडेको छैन । कहिले सभापति शेरबहादुर देउवा त कहिले महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर फकाउने प्रयास गरिरहेका छन् । यही विषयलाई लिएर गठबन्धनलाई समेत भत्काउने कांग्रेसको रणनीति देखिन्छ ।
राष्ट्रपतिका विषयमा तीन दलका तीनथरी कुराले सत्ता गठबन्धनमा अप्ठ्यारो छ । माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गरेमा गठबन्धन धरापमा पर्ने सम्भावना पनि उत्तिकै छ । तर, राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएमा प्रचण्ड नेतृत्वको सरकार ढल्छ या कांग्रेसको सहारा लिएर जोगिन्छ भन्ने निश्चित छैन ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच दैनिक संवाद भए पनि उपलब्धिमूलक बन्न नसक्दा अनिश्चय थप बढेको नेताहरु बताउँछन् । भेटमा ओलीले पुस १० गते भएको सहमतिबारे प्रचण्डलाई स्मरण गराउँदै आएका छन् । प्रचण्डले पनि कांग्रेसलाई समेत मिलाएर लैजाने कुरा गरेका छन् । यही कारण दुई नेताबीच संवाद फलदायी बन्न नसकेको हो ।
तथापि, शुक्रबार अपरान्ह ओलीसँगको भेटपछि बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले दुई तीन दिनमा राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्ने दाबी गरेका थिए । उनले गठबन्धन टुट्ने या भत्किने सम्भावना नरहेको जिकिर गरेका थिए ।
शुक्रबारको भेटमा पनि प्रचण्डले राष्ट्रपतिमा साझा उम्मेदवार उठाउन प्रस्ताव गरेका थिए । तर, ओलीले पुस १० को सहमतिअनुसार एमालेले उठाएको उम्मेदवारलाई निःशर्त सघाउनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल दुई नेताबीच खुलेरै छलफल भइरहेकाले उम्मेदवार मनोनयनको दिनसम्म कुनै सहमतिमा पुगिने विश्वास व्यक्त गर्छन् । ‘कुरो जहाँको त्यहीँ छ, तर्क र बहस खुलेरै भएको छ, डराएर होइन’, गजुरेलले भने, ‘पोजेटिभ पक्ष भनेको दुई नेताबीचको संवाद चलिरहेको छ ।’
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयको कार्यतालिका छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेमा सहकार्य टुट्ने चेतावनी एमालेले दिएको छ ।
एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङ प्रधानमन्त्री बन्दाको समयमा गरिएको सहमति कार्यान्वयनमा माओवादी इमानदार बन्नुपर्ने बताउँछन् । – मध्यान्हबाट















प्रतिक्रिया दिनुहोस्