राष्ट्रपतिमा सहमतिको प्रयास : घर्किंदो समय
काठमाडौं, फागुन ५ । नेताहरुका अनुसार प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिबारे रहेको संशय मेट्ने प्रयास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार गएका थिए ।
यस प्रयासका निम्ति उनले प्रचण्डलाई मनाउने प्रयास गरे । उनीहरुबीच साढे दुई घण्टा छलफल भयो । तर, छलफलको मूल विषय राष्ट्रपतिमा कसो गर्ने भन्ने टुंगो लागेन ।
वर्तमान राजनीतिक परिदृष्यमा सत्ता गठबन्धनभित्र देखिएका विविध आशंका मेटाउने विषयमा समेत छलफल भएका नेताहरु बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता बाक्लै भेटवार्ता भइरहेका छन् ।
सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसकारण एमाले सशंकित बन्दै आएको छ ।
राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रपति निर्वाचनसँगै सरकारको पूर्णताबारेसमेत छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भूमिकाबारेसमेत भेटघाटमा चर्चा भएको स्रोतले बताएको छ ।
बिहीबारको भेट विशेषगरी राष्ट्रपति निर्वाचन केन्द्रीत थियो । एमालेले पूर्व सहमति अनुसार राष्ट्रपति आफूले पाउने अडान राख्दै आएको छ भने माओवादीले राष्ट्रिय सहमतिको व्यक्तिलाई राष्ट्रपति बनाउनुुपर्ने तर्क अघि सार्दै आइरहेको छ ।
दुवै शीर्ष नेता आ–आफ्नै अडानबाट टसमस नभएका निकटस्थहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको रटानमा छन् भने अध्यक्ष ओली राष्ट्रपति पूर्वसहमतिअनुसार एमालेले पाउनु पर्ने अडानमा छन् । दुवै जना अडानबाट टसमस नहुँदा छलफलमा निष्कर्ष निस्कन नसकेको हो ।
तर, समय भने घर्किँदै गएको छ । निर्वाचन आयोगका अनुसार यही फागुन १० गते राष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन हुनेछ । ११ गते दाबी, बिरोध र उजुरी लिने, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने, १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
१३ गते राष्ट्रपतिको पदको लागि मनोनयन पत्र दर्ता हुनेछ । १३ गते नै उम्मेदवारको सूची प्रकाशन हुनेछ । १४ गते उम्मेदवारको विरुद्धमा उजुरी लिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ गते उम्मेदवारलाई नाम फिर्ता लिन चाहे समय दिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछिको ९ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।
अर्थात, १० गतेसम्म सत्ता गठबन्धनले राष्ट्रपतिको उम्मेदवार तय गरिसक्नुपर्छ । जतिबेला राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली नै प्रकाशन भएको हुन्छ । ढिलोमा पनि १२ गतेसम्म उम्मेदवारको टुंगो नलगाए १३ गतेसम्म सत्तागठबन्धन के हुने भन्ने प्रश्न खडा हुन सक्छ । यसकारण पनि सत्ता गठबन्धनमा रहेका नेताहरुको संवाद बाक्लिएको छ । मध्यान्हबाट















प्रतिक्रिया दिनुहोस्