टर्की भूकम्प अपडेट: ज्यान गुमाउनेको संख्या ४१ हजार नाघ्यो

काठमाडौं, फागुन ४ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौं घरबारविहीन भएका छन् ।

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ ।

टर्कीएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीएमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ । टर्कीएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय २०५ घण्टापछि एक महिलासहित नौ जनालाई जीवितै उद्धार गरिएको छ ।

टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताएका छन् । राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उनले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा आफ्नो देश परेको बताएका छन् ।

आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्