एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : अध्यक्ष नेपाल
काठमाडौ., फागुन ३ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने उनको भनाइ रहेको थियो ।
उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।राष्ट्रपतिमा सकेसम्म सबैको नसके अधिकांश दलको सहमति जुटाउन आफ्नो पार्टी लागिपर्ने उनले बताएका छन् ।
अर्को एक प्रसंगमा उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकीर समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि उल्लेख गरे । नेपालले त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न समेत उनले आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्