प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने, सुदूरपश्चिम सरकार जोगिन्छ’

काठमाडौं, माघ २६ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको सरकार जोगिने दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग वार्ता गरेर सिंहदरवार पुगेका उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ओलीले यस्तो दाबी गरे पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका छन् । ‘अहिलेसम्म हामीसँग कुनै खालको छलफल भएको छैन। हामी रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दी रिहाइको अडान छाड्दैनौं,’ नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रामेश्वर चौधरीले भने ।

सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीको सपथ लिएका थिए ।

तर विश्वासको मत दिनुअघि रेशम चौधरीको रिहाइ अनिवार्य शर्त राखेपछि सुदूरपश्चिम सरकार संकट नजिक पुगेको हो । मुख्यमन्त्री रावलले आज जसरी पनि विश्वासको मत लिनुपर्ने छ । प्रदेश सभाको वैठक भर्खरै शुरु भएको छ । अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्वोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्