भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीले गरे ३५ लाख युरो सहयोग

काठमाडौं , माघ २६ । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्।

मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।

टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेको छ।

सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार ८६५ पुगेको छ।

टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी (एएफएडी)का अनुसार टर्कीमा मात्रै मृतकको संख्या १२ हजार ८७३ पुगेको छ। उता सिरियाको उत्तरपश्चिम विद्रोही (नियन्त्रित क्षेत्र) र सरकारी नियन्त्रित भागमा गरी मृतकको संख्या २ हजार ९९२ पुगेको छ।

मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन्। दुई देशमा गरी २० हजारको मृत्यु भएको अनुमान संयुक्त राष्ट्र संघले गरेको छ। घाइतेको संख्या ५० हजारभन्दा बढी रहेको बताइएको छ।

खोज र उद्धार टोलीहरूले चिसो मौसमका बाबजुद भत्किएका भवनको भग्नावशेष पन्छयाइरहेका छन्।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७:७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६:४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

 

प्रतिक्रिया दिनुहोस्