उपत्यकाका ६ ठाउँमा बर्डफ्लु, किसान चिन्तित
काठमाडौं, माघ २६ । उपत्यकामा बर्डफ्लु देखिएपछि किसानहरू फेरि चिन्तित बनेका छन् । पीडितलाई राहत दिने सरकारी घोषणा आश्वासन मात्रै हुँदा उनीहरूको चिन्ता बढेको हो ।
सरकारी तथ्यांकअनुसार बर्डफ्लुपीडित किसानले झन्डै ५८ करोड रुपैयाँ पाएका छैनन् ।पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा उपत्यकाका ६ ठाउँमा बर्डफ्लु पुष्टि भएको छ ।
ललितपुर–१५ स्थित खुमलटार, भक्तपुर–१० चाँगुनारायण, नागार्जुन–६ रामकोट, तारकेश्वर–१ र ७ र काठमाडौं महानगरपालिका–१० शंखमूलमा बर्डफ्लु भेटिएको हो ।
बर्डफ्लु नियमावलीअन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । उनका अनुसार ६ ठाउँबाट ५ सय वटा हाँस, ५ हजार ५ सय ३१ वटा व्यावसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ ।
त्यस्तै, १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तबरले नष्ट गरिएको उनले बताए । नागार्जुन र तारकेश्वर सबैभन्दा बढी प्रभावित देखिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्