टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, उद्धार कार्य जारी
काठमाडौँ , माघ २६ । टर्की र सिरियामा सोमबारको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।
भूकम्पबाट अहिलेसम्म टर्कीमा १२ हजार ३९१ र सिरियामा २९९२ जना गरि कुल १५ हजार ३८३ जनाको मृत्यु भएको छ ।
टर्कीको डिजास्टर एण्ड इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार अहिलेसम्म भूकम्पबाट टर्कीमा अहिलेसम्म घाइते हुनेको संख्या ५० हजार नाघेको छ भने सिरियामा ४ हजार भन्दाबढी घाइते भएका छन् ।अहिले टर्की र सिरिया दुवै देशमा राहत र उद्धार कार्य जारी रहेको छ ।
टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । त्यसपछि सोमबार पटक पटक पराकम्प आइरहेको र अपराहन्न करिब ४ बजे ७.५ रेक्टर स्केलको दोस्रो शक्तिशाली भूकम्प आएको थियो ।
पहिलो भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा बढीका १०० भन्दा बढी पराकम्पहरु आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको धक्का टर्की र सिरियाका अलावा लेबनान र साइप्रसमा पनि महशुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्