प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच आज (बुधबार) भेटवार्ता भएको छ ।
बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेकी हुन् ।
नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भू–राजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।
युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ ।
सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।
आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्