मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद‚ ७५ हजार क्षतिपूर्ति

काठमाडौँ , माघ २३ । जिल्ला अदालत काठमाडौँले मानव बेचबिखन मुद्दामा मनोजकुमार पाण्डेलाई सजाय निर्धारण गरेको छ।

माघ १० गते न्यायाधीश दीपक ढकालको इजलासबाट दोषी ठहर भएका पाण्डेलाई सोमबार त्यहीँ इजलासले ७ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो।

बाल यौन दुराचार कसुरमा भने उनलाई दोषी ठहर गर्दै यसअघि नै ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएमा एक महिनाभित्र अर्को सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार पाण्डेलाई मानव बेचबिखन मुद्दामा सोमबार सजाय निर्धारण गरेको काठमाडौँ जिल्ला अदालतले सजाय तोकेको हो।

उनीविरुद्ध गत असार १ गते जिल्ला अदालत काठमाडौँमा मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको कसुरमा दुई वटा मुद्दा दर्ता भएका थिए।

एक सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा आफूमाथि आयोजक पाण्डेले बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन्।

ती युवतीले आफूमाथि भएको घटनाबारे आठ वर्षपछि सार्वजनिक गरेपछि जबरजस्ती करणी मुद्दामा चलाउन हदम्याद नाघेकाले उनलाई मानव बेचबिखन मुद्दा चलाइएको हो।

सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा बलत्कार भएको दाबी गरेकी युवतीविरुद्धको घट्नामा मानव बेचबिखनविरुद्धको मुद्दा र प्रहरी सम्पर्कमा आइ उजुरी दिएकी अर्की नाबालिकाको हकमा बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्