सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, माघ २३ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र कांग्रेस राष्ट्रिय सहमतिको सरकारको पक्षमा छ भने एमाले यसको विपक्षमा छ । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास हुने बताउँदै आइरहेका छन् । तर, नेकपा एमालेले भने राष्ट्रपति निर्वाचन एमालेको उम्मेदवारमा सहमति हुनुपर्ने बताउँदै आएको छ ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति निर्वाचनमा ढोक्सा थापेको समेत आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्