प्रधानमन्त्रीको काँधमा पाँच मन्त्रालयको कार्यभार

काठमाडौं, माघ २३ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्रबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतवार आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

त्यस पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल सहभागी थिए ।

उनीहरूले आफ्नो पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको नेतृत्व खाली भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतवार बेलुकी प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

अब प्रधानमन्त्री प्रचण्डको काँधमा पाँच मन्त्रालयको कार्यभार आइपरेको छ ।

प्रतिक्रिया दिनुहोस्