महामन्त्री शर्माको दाबी- राष्ट्रपति हामी नै जित्छौँ
काठमाडौं, माघ २२ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन्।
महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे। उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा। रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे।
महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे।
महामन्त्री शर्माले सत्तारुढ दलहरुप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए।

प्रतिक्रिया दिनुहोस्