पत्रकार सम्मेलनमा रवि लामिछाने भने- नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताए ।

‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालेँ । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिन, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ ।’

१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए ।

तर स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ । ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन’ लामिछानेले भने ।

साथै सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताएका छन् ।

“अनलाइन, कान्तिपुरमा सही आएको छ ?,” उनको आक्रोश थियो, “कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !”

उनले आफू जहिले पनि घेराबन्दीमा पर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्