सर्वोच्चको फैसलाले कसलाई न्याय भयो मैले बुझिनँः अध्यक्ष ओली

काठमाडौं, माघ २२ ।  अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटीलाई देखाएर लामिछानेमाथि अन्याय गरेको बताएका हुन्।

उनले सर्वोच्च अदालतको फैसलाबाट कसलाई न्याय भयो भन्दै प्रश्न गरे। उनले उजुरी गर्ने व्यक्तिलाई लामिछानेले के अन्याय गरेको भएर उजुरी गरेको हो भन्दै प्रश्न गरे। उनले असम्बन्धित उजुरीकर्ताको उजुरीले र अदालतको फैसलाले न्याय कसलाई भयो भन्ने कुरा स्पष्ट नभएको बताए।

ओलीले रवि लामिछाने प्रतिनिधि सभाको ढोका खुला भएर मात्रै प्रतिनिधि सभा नछिरेको भन्दै निर्वाचन आयोगले योग्य ठहर गरिसकेपछि मात्रै निर्वाचित भएको बताए। उनले विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार दिने भनिरहँदा सभापति लामिछानेको विषयले गैर आवासीय नेपालीहरुमाथि मताधिकार दिने वा नदिने भन्नेबारेमा प्रश्न उठेको बताए।

विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिने भनिरहँदा यस किसिमका फैसलाहरुलाई आगामी दिनमा हुन नदिन स्पष्ट नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले राजनीतिक मुद्दाहरु फिर्ता लिइ राजनीतिक बन्दीहरुको रिहाईको प्रसंग उठिरहेको भन्दै यसमा सरकारले छिटो कानून निर्माण सम्बन्धी वा अन्य आवश्यक कुराका सन्दर्भमा छिटो कदम चाल्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्