प्रधानमन्त्री प्रचण्डले रविलाई भने– तपाईं अहिले मन्त्री नबन्नुस्, विकल्प सोच्नुस् , अहिले केही दिन सक्दिनँ

काठमाडौं, माघ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।

“सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादर छौँ । तपाईंको मन्त्रालयको संख्या घटाउन खोजेको होइन, जतिवटा मन्त्रालय तोकिएको छ, त्यो दिइन्छ,” प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले  भन्यो, “तपाईं उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म (प्रधानमन्त्री)सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।”

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ ।

यता प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।

एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्