अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।

सिन्धुपाल्चोकमा भएको एक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले यस्तो बताएका हु्न्।

शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको जग बसाल्न सकिने उनले उल्लेख गरे । समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक,विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको औंल्याए ।

विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको
पनि उनले स्मरण गरे।

उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए ।

“निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ, उनले विश्वास व्यक्त गरे।

उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको पनि बताए

प्रतिक्रिया दिनुहोस्