मलेसिया र नेपाल उच्चस्तरीय श्रम बैठक सुरू, नेपाली कामदार प्राथमिकता

काठमाडौँ, माघ २० । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्यबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा कामदारको हित र सुरक्षामा केन्द्रित द्विपक्षीय छलफल हुनेछ । बैठकमा नेपालको तर्फबाट निमित्त श्रमसचिव डण्डुराज घिमिरे, सहसचिव रामचन्द्र ढकाल, वैदेशिक रोजगार विभागका प्रमुख उमाकान्त आचार्य लगायतको टोली छ ।

मलेसियाको तर्फबाट नेपालका लागि मलेसियाली राजदूत मोहमद फाजिल अबु हसन र मानव संशाधन मन्त्रालयका प्रतिनिधिहरु रहेका छन् । यो बैठकपछि गृहमन्त्री इजमाइलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कूटनीतिक भेट गर्ने छ ।

शुक्रबार दुई घण्टासम्म चल्ने यो बैठकले मलेसियाले छुट्याएको कोटामा नेपाली कामदार प्राथमिकता निर्धारण हुनेछ । मलेसियाले संवेदनशील क्षेत्रमा कामदार अभाव भएपछि तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएको छ । यो नीति लिएलगत्तै मलेसियाको उच्च तहको नेतृत्व नेपालसँग संवाद गर्न काठमाडौं आइपुगेको हो ।

मलेसियाले संवेदनशील क्षेत्रमा रहेका औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने तयारी गरेको हो ।

त्यसमध्ये सेवा क्षेत्रअन्तर्गत पर्ने घरेलु कामदार र नेपाली सुरक्षा गार्डबारे मलेसियाको मुख्य चासो छ ।मलेसियाका गृहमन्त्री इजमाइल तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका थिए ।

नेपाल आउनुअघि मलेसियाका मानव संसाधनमन्त्री र गृहमन्त्रीलाई भेटेका मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले यो भ्रमणलाई रणनीतिक महत्त्वका हिसाबले बुझ्नुपर्ने बताए ।

मलेसियाले नेपाललगत्तै बंगलादेशसँग पनि कामदारकै विषयमा छलफल गर्दै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्