मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल हुने
काठमाडौं, माघ १८ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन्।
हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो।शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ।
गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।
मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्।
मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ। उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृह मन्त्रीसँग छलफल हुनेछ। मलेसियाले नेपालमै सुरक्षागार्डको तालिम दिने विषयमा पनि नेपाल सरकारसँग छलफल गर्नेछ।
अदक्ष श्रमिक लैजाँदा समस्या देखिएको भन्दै मलेसिया जाने सुरक्षागार्डलाई यहीँ तालिम लिएर जाने र त्यसका लागि नेपालमा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव मलेसियाले गर्नेछ।
यस्तै यसअघि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको विषयमा पनि दुई देशबीच छलफल हुने भएको छ। यस्तै मलेसियामा कार्यान्वयनमा रहेको सामाजिक सुरक्षाको कार्यक्रममा नेपालीलाई पनि अनिवार्य समेट्न माग गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्