गृह मन्त्रालयका कारण सत्ता साझेदार दलमा ‘खटपट’
काठमाडौं, माघ १८ । गृहमन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्रालयमा दाबी गरेपछि सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको हो ।
आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिने रास्वपाको दाबी र गृह मन्त्रालय आफैंसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडानमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपाले पाउनु पर्ने बताएपछि साझेदार दलबीच अविश्वासको वातावरण सृजना भएको हो।
मंगलबार गृहमन्त्रालयका विषयमा छलफल गर्न बालुवाटार पुगेका रविलाई प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसक्ने जवाफ दिएका थिए। मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा पनि प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय कसैलाई पनि नदिने बताएका थिए।
तर रास्वपाले भने पूर्व सहमति अनुसार गृहमन्त्रालय आफूले नै पाउनु पर्ने बताउँदै आएको छ।
रास्वपा संसदीय दलका नेता एवं श्रम मन्त्री डिपी अर्याल गृहमन्त्रालयमा आफूहरुको दाबी भन्दा पनि पूर्व सहमति अनुसार सो मन्त्रालय आफूहरुको नै भएको बताउँछन्।
रास्वपाले आफूले गृहमन्त्रालय पाउनु पर्ने दाबी गरिरहँदा सो मन्त्रालयमा फेरि रवि लामिछाने नै जाने दाउमा छन्। लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिइसकेका छन्।
६ महिना गैरसांसदलाई मन्त्री बनाउन पाइने संवैधानिक व्यवस्थामा टेकेर लामिछाने फेरि सरकारमा सहभागी हुने र उपनिर्वाचनमार्फत चुनाव जितेर आउने उनको योजना छ।
मंगलबार प्रधानमन्त्री प्रचण्डसँगको छलफल त्यति फलदायी नभएपछि लामिछानेले मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीले पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपाले पाउनु पर्नेमा आफू दृढ रहेको ढाडस दिएका थिए।
तर मन्त्रालय दिने नदिने अधिकार प्रधानमन्त्रीको भएकाले आफूले गृहमन्त्रालय पाउनेमा लामिछाने ढुक्क छैनन्। प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार अब कुनै पनि हालतमा गृह मन्त्रालय रास्वपालाई नदिने र गृहमन्त्रालय आफैंसँग राख्ने सोचमा प्रधानमन्त्री छन्।
पुस १० र अहिलेको परिस्थिति फरक भएको भन्दै प्रचण्डले आफू निकट नेता शक्ति बस्नेतलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ।
उता आफूले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिइसकेको छ। गृहमन्त्रालयको विषयमा खिचातानी बढ्दै जाँदा सत्ता गठबन्धनको भविष्य नै संकटमा पर्ने देखिएको छ।















प्रतिक्रिया दिनुहोस्