प्रधानमन्त्री प्रचण्डले भने – फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ
काठमाडौं , माघ १७ । सत्ता गठबन्धनमा विस्तारै असमझदारी बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सहमतिअनुसार नै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने भन्दै दबाव बढाएपछि गठबन्धनमा फाटो बढ्दै गएको हो ।
रास्वपाका सभापति रवि लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय आफ्नो पार्टीलाई नै दिन प्रस्ताव गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने आनाकानी गरेको रास्वपाले जनाएको छ ।
यति मात्रै होइन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन्
रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।
गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।
यता एमाले भने लामिछानेलाई नै गृहमन्त्री दिन सकारात्मक छ । तर माओवादी केन्द्रका नेताहरुले भने गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउनुपर्ने बताइरहेका छन्।
गृह मन्त्रालय तथा राष्ट्रपतिको निर्वाचनबारे पार्टीका नेताहरुको धारणा सुन्न आज पनि पदाधिकारी बैठक चलिरहेको थियो ।















प्रतिक्रिया दिनुहोस्