दौडधुपमा रवि लामिछाने, गृह नपाए सरकारबाट बाहिरिने अडान

काठमाडौँ , माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अडान उसले कायमै राखेको हो । केन्द्रीय समिति बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको सहमति अनुसार गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अडान लिएको हो ।

पार्टीका अध्यक्ष रवि लामिछाने गैर नागरिक भएको सर्वोच्चको फैसलाले संसद्, उपप्रधान तथा गृहमन्त्री पद र पार्टीको सभापति पद गुमेपछि आइतबार नागरिकता लिएसँगै पार्टी अध्यक्ष चयन भएका छन् ।

उनी अध्यक्ष चयन भएपछि बसेको केन्द्रीय समितिको बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको समझदारी अनुसार गृह मन्त्रालय पार्टीले छोड्न नसक्ने निष्कर्ष निकालेको हो ।

यस विषयमा सत्ता साझेदार दलसँग छलफल गर्ने जिम्मेवारी पनि अध्यक्ष लामिछानेले नै लिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पार्टीको निर्णय र अडानका बारेमा कुराकानी गरेका छन् ।

लामिछानेले पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएपछि एमाले अध्यक्ष ओली बालुवाटार पुगेर प्रधानमन्त्रीसँग पनि छलफल गरेका थिए ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ । यता आज मात्रै मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले मंगलबार बेलुकीसम्मको डेडलाइन (समयसीमा) दिएको रविको सचिवालयले जनाएको छ।

नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।

लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्। सोही विषयमा छलफल गर्न मंगलबार बिहान उनी बालुवाटार पुगेका थिए।

माओवादीभित्र गृह मन्त्रालय आफैंले राख्नपर्ने चर्को दबाब बढेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गृह मन्त्रालयमा पुनः रविलाई नै नियुक्त गर्नपर्ने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्