प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

काठमाडौं , माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ ।

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्डसहितको प्रतिनिधिमण्डल प्रचण्ड भेट्न आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । नुल्यान्डको टोलीमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि सहभागी थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध, दुई पक्षीय सम्झौता र आपसी हितलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । दुई दिने नेपाल भ्रमणका लागि उपविदेशमन्त्री नुल्याण्ड आइतबार साँझ काठमाडौं आइपुगेकी हुन् । उनले नेपालपछि भारत, श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उपविदेशमन्त्री न्युलाण्डले उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, परराष्ट्रमन्त्री डा। विमला राई पौड्यालसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटघाटको कार्यक्रम छ ।

नेपालको संस्कृतिलगायत विषयमा पनि छलफल हुने जनाइएको छ । उनले अमेरिकाले नियमित दिँदै आएको सहयोग यूएसएआईडी र नेपालले ती क्षेत्रमा गरेको प्रगतिका विषयमा पनि समीक्षा र अपडेट लिने जनाइएको छ ।

अमेरिकाले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र ललितपुरको पाटनमा रहेका सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्