गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, माघ १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाएका छन्।

आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २२औं वार्षिकोत्सव अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन पूर्ण सहयोग रहने बताएका हुन्।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सम्पूर्ण जनताको आशा र भरोसाको केन्द्र भएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ भनेरै संविधानमा मौलिक अधिकारको रुपमा राखेका हौं। दोस्रो कार्यकालमा स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेको र अहिले पनि त्यसलाई निरन्तरता दिने गरी काम गर्छौं।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नागरिकलाई अस्पतालले उत्कृष्ट सेवा दिएकामा सराहना गरे।

अस्पतालले विपन्न, बिमा र निःशुल्क कार्यक्रम सञ्चालन गरेपछि जनतालाई सहज भएको उनको भनाइ छ।

कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालाल अस्पताल अन्य अस्पतालभन्दा तुलनात्मक रुपमा राम्रो रहेको सुनाए। गंगालाल अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन आवश्यक भएकाले प्रधानमन्त्रीलाई यस विषयमा काम अगाडि बढाउन उनले आग्रह गरे।

स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीले अस्पतालले उत्कृष्ट काम गरिरहेकाले यसलाई निरन्तरता दिन आग्रह गरिन्। मुटुका सेवा विकेन्द्रीकरण गर्न मन्त्रालयले सहयोग गर्ने उनको भनाइ छ।

‘अस्पतालमा कुनै पनि समस्या भए मन्त्रालय आउनुस्। तपाईंहरुका लागि सधैं ढोका खुला छ। हामी सहयोग गर्छौं’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्