कांग्रेसप्रति आक्रामक एमाले, राष्ट्रपति निर्वाचनलाई लिएर द्वन्द्व
काठमाडौँ, माघ १५ । माओवादीसँग निकटता बढाउन प्रयास गरिरहेको कांग्रेसप्रति प्रमुख सत्ता घटक एमाले झन् आक्रामक बनेको छ । नयाँ सरकार गठनअघिसम्म सहकार्यको विषयमा छलफलमा रहेका कांग्रेस र एमाले पछिल्लो समय एक–अर्काप्रति आक्रामक बनेका हुन् ।
दुई दलबीच खासगरी राष्ट्रपति निर्वाचनलाई लिएर द्वन्द्व सुरु भएको छ । फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनसम्म पुग्दा यो द्वन्द्व झनै बढ्ने देखिन्छ । दुवै दल राष्ट्रपतिमा आफूले चाहेको उम्मेदवार निर्वाचित गर्ने रणनीतिमा छन् । यसका लागि निर्णायक मतभार रहेको माओवादीलाई आफ्नो पक्षमा पार्ने कोसिसमा कांग्रेस र एमाले छन् ।
एमालेले सत्ता गठबन्धनमा सहमति भइसकेकाले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने कांग्रेसले प्रमुख सबै पद एमालेको पोल्टामा पुगे एकलौटी हुने भन्दै आफूले पाउनुपर्ने धारणा राख्दै आएको छ ।
एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले अघि सार्ने उम्मेदवारलाई माओवादीले सघाउने अपेक्षा लिएको छ । यसका लागि कांग्रेसले संवाद पनि अघि बढाएको छ ।
नयाँ सरकार गठन हुनुअघिसम्म एउटै गठबन्धनमा रहेका कांग्रेस र माओवादीबीच पछिल्लो समय बढ्दै गएको निकटताबाट एमाले नेताहरू झस्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्