गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आउनसक्ने भन्दै सर्वोच्च परिसरमा बढाइयो सुरक्षा
काठमाडौं, माघ १३ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ ।
प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए । अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको आरोप गृहमन्त्रीमाथि छ ।
विवाद मुद्दाको फैसला आउनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको हो ।
बहस सकिएकाले शुक्रबार नै लामिछानेविरुद्धको रिटको फैसला आउनसक्ने बताइएको छ। फैसला आउनसक्ने भएपछि सर्वोच्च परिसर आसपास व्यापक सुरक्षा बढाइएको हो। अहिले सर्वोच्च परिसरमा बाक्लो रुपमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा लामिछानेको मुद्दाको बसह सकिएको हो।
दुवैतर्फबाट बहस सकिएकाले आजै फैसला आउनसक्ने सम्भावना छ। शुक्रबार गृहमन्त्री लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसी तथा अधिवक्ताहरु आशिष अधिकारी, सुदीप पन्त र यज्ञमणि न्यौपानेले प्रतिरक्षामा बहस गरेका थिए।
यस्तै, रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र रमण कर्ण तथा अधिवक्ता अनिता श्रेष्ठले जवाफ बहस गरेका थिए।
लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुन: नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको आरोप छ ।
नागरिकता पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र गृहमन्त्री, सांसद बन्न अयोग्य रहेको तर्क गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्