क्रिकेटर लामिछानेलाई खेलमा फर्काउन सोचिरहेका छौं : अध्यक्ष चन्द

काठमाडौं, माघ १२ ।   नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए ।

उनका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको छ ।

उनले भने, ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौँ ।’

उच्च अदालत पाटनले केही समयअघि लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यससता उनको क्रिकेटमा पुनरागमनबारे अन्योलता रहेका बेला चन्दको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्