प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी
काठमाडौं, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणका लागि तयारी सुरु भएको छ ।
राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ ।
फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन भएलगत्तै फागुन अन्तिम सातादेखि चैत पहिलो साताबीच प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने तयारी छ ।
भ्रमणको निमन्त्रणा लिएर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने गरी दिल्लीमा तयारी भएको छ ।
प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए ।
त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए । प्रचण्डले दिल्लीस्थित नेपाली दूतावासले भ्रमणको तयारीमा काम गरिरहेको बताएका थिए ।
यता कूटनीतिक स्रोतका अनुसार माघ अन्तिम सातादेखि फागुन पहिलो साताबीचमा विदेशसचिव क्वात्रा नेपाल आउने तयारी छ ।यसअघि प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्