सर्वोच्चमा बहस : ‘रवि नेपाली मूलको विदेशी नागरिक हुन्’
काठमाडौं , माघ ११ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।
सर्वोच्चमा आजदेखि भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने तर प्राप्तिका लागि राज्यको उपस्थिति अनिवार्य हुने बताए ।
अमेरिकी ग्रिनकार्ड लिने बेलामा अरु कुनै देशको नागरिक नरहेको र कुनै पनि राज्यप्रति निष्ठा नरहेको शपथ लिएका लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपालमा नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको उनले बताए ।
सो प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने अहिले नेपाली भएपनि नेपाली नागरिक नभएको उनले तर्क गरे ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्णले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको हुनाले उनले दल खोल्न र सांसद हुन नपाउने तर्क गरेका थिए ।
अधिवक्ता कर्णले अमेरिकाको नागरिकता त्याग गरेपछि पुनः प्राप्तिको प्रक्रियामा नै नगई नागरिकता प्राप्त नहुने भएकाले उनलाई नेपाली नागरिक मान्न नसकिने तर्क गरेका थिए ।
विधि र कानुन नै पूरा नगरि नागरिकता स्वतः कायम हुन्छ भनि तर्क गर्न नमिल्ने बताएका थिए । उनले अमेरिकाको नागरिकता लिनासाथ नेपालको कायम नरहने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्